हामी नेपाली - पहिला निकै गर्व लाग्थ्यो, अहिले लाग्दैन । पहिला भिमसेन, अमरसिंह, बलभद्र, पृथ्वीनारायण, देव शमशेर जस्ता विरहरुको विरताको रगतले सिंचिएको थियो । अहिले मुर्दाहरुले शासन गरिरहेका छन् ।
देशले भिमसेन थापा मुक्तियार पायो, विभिन्न कुरामा फसाएर आत्महत्या गर्न लगाइयो । क्रमैसंग रंगनाथ, पुस्कर, रण ब., माथवर सिंह, फत्तेजंग हुँदै राजा सुरेन्द्र, राजेन्द्रको समयमा जंग बहादुरले श्री ३ पदवी लिएर कोत पर्व, भन्डारखाल पर्व, अलौ पर्व मच्चाए ।
जनताले आफ्नो दुख घटाउने मौका पाएनन् । राणा शासनले १०४ वर्ष देश चलाए, कतिले राम्रो काम गरे, कतिले नराम्रो काम गरे । वीर शमशेरले अस्पताल खोले, चन्द्र शमशेरले सति प्रथा हटाए, त्रिचन्द्र कलेज खोले । समय परिवर्तन भयो, शासक परिवर्तन भए, वि.सं. १९९७ मा आजादी र प्रजातन्त्रको माग गर्ने धर्मभक्त, शुक्रराज, गंगालाल, दशरथ जस्ता ब्यक्तिहरु सहिद भए, यो घटनाले ढिलै भएपनी देशमा एक आशाको किरण जगायो । धेरैथोरै क्रान्ती भयो - त्रिभुवनले जनतालाई सहयोग गरे - देशमा सहिदको बलिदानको १० वर्ष पछि वि.सं. २००७ सालमा प्रजातन्त्र आयो । अब त चैनको श्वास फेर्न पाइएला भनेर जनताहरु ढुक्क थिए तर त्यसो भएन ।
त्रिभुवनको शेषपछी महेन्द्र गद्दीमा सवार भए । ०१७ साल तिर निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाइ बन्दी बनाए र शासनलाई आफ्नो कब्जामा लिए र एकाधिकार शासन लागू गर्न लागे । देशले निर्दलिय शासन पायो । अत्याचार र आतंक चल्दै गयो, राम्रा काम पनि अलिअली भए । जनताले आनन्दको श्वास अझैं फेर्न पाएनन् ।
वि सं. २०२८ सालमा राजा महेन्द्रको चितवन भरतपुरमा सिकार खेल्ने क्रममा हृदयघातको कारणले मृत्यु भयो । त्यसपछी बिरेन्द्र राजा भए । ( उपयुक्त समय नभेटिएकाले उनको राज्यारोहण ३ वर्ष पछि भएको थियो ।)
वि. सं. २०३६ साल वैशाखमा राजा विरेन्द्रले घोषणा गरेका सुधारिएको पन्चायत कि बहुदल भन्ने जनमत संग्रह वि. सं. २०३७ सालमा सम्पन्न भएकोमा बहुमत पन्चायतको तर्फ खस्यो । देशले फेरि पनि पन्चायतलाई स्वागत गर्यो ।
यो ब्यवस्था पनि जनतालाइ उचित लागेन । नेपाली कांग्रेसको नेतृत्वमा कम्युनिष्ट मोर्चाहरु मिलेर बहुदलका लागि जनआन्दोलन लाई मूर्त रुप दिने प्रयाश गरे जुन सफल पनि भयो । लगभग पचास दिनको क्रान्तीकारी आन्दोलन पछि देशले बहुदलिय ब्यवस्था पायो । निर्दलिय पन्चायत शासनको अन्त्य भयो । आनन्दका सुस्केरा नियाल्ने जनताका शासन भने अझै पूरा हुन सकेनन् । केही न केही अभाव छ भन्ने लागिरह्यो ।
राजालाइ वैचारिक तवरले औला उठाउने एकीकृत माक्र्सवाद लेलिनवादका प्रखर ब्यक्तित्व कमरेड मदन भण्डारी र जीवराज आश्रीतको दासढुङ्गा घटनामा वि.सं. २०५० साल जेठमा हत्या भयो । देशले कोल्टे फेर्ने सबैलाइ आशा भएता पनि देशले क्रान्तिको त्यो उचाइ कहिल्यै भेट्न सकेन । आन्तरिक खिचातानीमा र बाहिरी शक्तिको प्रभावले देशले आफ्नो विकाश र शान्तिको उचाइमा उडान भर्न सकेन ।
अन्तत देशले माओवादीको जन्म दियो ।
देश विषम परिस्थितितर्फ मोडिरहेकै बेला २०५२ सालमा माओवादीको उदय भयो जसको मुख्यत: लक्ष्य देशमा राजतन्त्रको अन्त्य गर्नु र गणतन्त्रको उदय गर्नु थियो ।
माओवादीले सानातिना आन्दोलन, भुमिगत आन्दोलन खेल्दै, विभिन्न राजनीतिक पृष्ठभुमि तयार गर्दै गयो । रामेछापको बेथान चौकी आक्रमण हुँदै रुकुम सांसद यदु गौतम हत्या जस्ता सर्वसाधारण जनताको हत्या गर्दै राजाको शक्तिलाइ परास्त हुने दियो बालेर हिडिरहेको थियो ।
नेपाली जनताले आशा गरेका राजा विरेन्द्रको वि.सं २०५८ सालमा सपरिवार हत्या भयो । राजाको हत्यापछी मुलत देशको राजनीतिक धरातल फरक भयो । दिपेन्द्र बेहोस थिए - बेहोसीमै राजा भएर मरे । यो घटनाको आजसम्म पनि रहस्य पत्ता लाग्न सकेन । राजाको हत्या पछि राजाको शक्तिमा समेत धक्का लागेर राज्य शासन कमजोर बन्दै गयो । राजा ज्ञानेन्द्र सत्तामा बसेपछी कमजोरीको फाइदा उठाउदै माओवादीले आफ्नो संग्राम बढाउदै लग्यो । राजाले आफ्नो किसिमले शासन अनुमती दिन लागे ।
२०५८ साउन १० गते विद्रोही पक्ष र राज्य पक्ष बीच युद्ध विरामको घोषणा भयो । फेरि मंसिर ७ मा माओवादीले दाङको घोराहिमा सैनिक इलाकामा आक्रमण गरेर निकै हातहतियार कब्जा गर्यो ।
२०५९ सालमा ठाउँठाउमा आक्रमण जारी राख्दै जेठमा बामपन्थी पत्रकारको हत्या भयो । माओवादीले भुमिगत आक्रमण जारी राखिरहेकै थियो ।
२०६० साल साउन २७ देखि भदौ १ सम्म प्रारम्भिक रुपमा माओवादी - सरकार बिच शान्तिवार्ता सम्झौता, छलफल भयो ।
तर साउन ३२ गते नै नेपाली सेनाले १६ जना रामेछापको दोरम्बामा ( माओवादी र सर्वसाधारणको ) हत्या गरेपछी देशमा क्रान्ति र विद्रोहको बिरुवामा झन मलजल पुग्यो ।
भदौ १० मा पुगेर युद्ध विराम भंग भयो । पत्रकारहरु मार्ने शिलशिला चलिरह्यो । २०६० कै माघ फागुनमा काभ्रेमा मैना सुरुवार हत्याकान्ड भयो । उनलाइ बलात्कार र हत्या गरेको आरोप उक्त सैनिक केन्द्रका तात्कालिन केही सैनिक अधिकृत ए महासेनानीलाई लागेको थियो ।
चैत्रको पहिलो हप्तामा बेनी आक्रमण घट्यो । जसमा करिब ५०० (अनुमान) को हत्या भएको आशंका गरिएको छ ।
२०६१ साल माघ १९ मा तत्कालीन देउवा सरकारलाई वर्खास्त गरि राजाले आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेर प्रत्यक्ष निरंकुश शासन गरे । यसपछी संसदवादी दलहरुले आफ्नो आन्दोलन सुरु गरे ।
२०६२ जेठ २३ मा बादरमुडे घटना भयो । चितवनको माडीस्थित बादरमुढेमा माओवादीको नेतृत्वले थापेको विद्युतिय धराप राखेर सर्वसाधारण चढेको बसमा आक्रमण गर्दा ४१ सर्वसाधारणको हत्या भएको थियो ।
२०६२ साल मंसिरमा सात पार्टी र माओवादी पक्ष बिच युद्ध रोकेर वार्तामा आउन सहमती भयो । यो दिल्लीमा भएको वार्ता हो, जसमा १२ बुदेँ सम्झौता भएको थियो ।
२०६२ चैत्र २४ बाट दोस्रो जनआन्दोलनको सुरुवात भयो, दमनकारी राजतन्त्रको विरुद्धमा । जनआन्दोलन दोस्रो पनि सफल भयो । २०६३ वैशाख ८ मा जनताको नासो जनतालाइ फिर्ता गरिदिएको भन्ने घोषणा पश्चात वैशाख ११ मा राजाले फेरी संसदको पुनर्स्थापना भएको घोषणा गरे - जुन दिन लोकतन्त्रको फेरि हासिल भयो ।
२०६३ मंसिर ५ मा भएको सात दलको नेपाल सरकार र नेकपा माओवादी बिच भएको सम्झौतालाई 'बृस्तृत शान्ति सम्झौता' भनियो । सात दल र नेकपा माओवादी पनि मिलेर आठ दलले आन्तरिक संसद बनेको थियो । संविधान सभा बनी संविधान नलेखिन्जेलको लागि उक्त अन्तरिम संसदले अन्तरिम संविधान जारी गर्यो ।
अन्तरिम संविधानले राजाको अन्त्य गर्यो र २०६४ साल जेठमा संविधान सभाको चुनाव गर्न निर्देशन दियो । राजनीतिक खिचातानी र संक्रमण हटाउदै तेस्रो पटकमा चैत्र २८ मा चुनाव हुने निर्णय भयो ।

द्वन्द्वकाल, संकटकाल र क्रान्ती, आतंक बम वारुद हत्या बलात्कार, अपहरण, चन्दा, फिरौती जस्ता कुराबाट आजित भएका जनताले आनन्दको अमन चयनको स्वागत गर्न थालिसकेका थिए । जनताको अमन चयन निकै समय लामो समयसम्म चल्न सकेन । १७००० + मानिसको जान अन्जानमा भएको बलिदानको फलस्वरुप देशमा २०६४ चैत्र २८ मा देशभर संविधान सभाको लागि चुनाव सम्पन्न भयो ।
आफ्ना बाआमा गुमाउन परेको शोकको, छोरा छोरी आफन्त गुमाउन परेको शोकलाइ जितेर निकैले भोट हाल्न गए, आन्दोलनमा घाइते भएकाहरु ले नयाँ नेपालको दियो जलाउन उत्सुकता पूर्वक भोट हाले । देशमा माओवादीको डर अझैँ थियो । क्रान्तिलाइ कलममा टुंगाएर जिल्ला जिल्लाबाट प्रतिनिधिहरु पठाएर जनताले संविधान लेख्न पठाए ।
निर्वाचन पश्चातको संविधान सभाले देशमा राजतन्त्र अन्त्य भएको र देशमा गणतन्त्र लागू भएको घोषणा गर्यो । यो दिन २०६५ जेठ १५ थियो । गणतन्त्र जन्मियो तर अमनचयन जन्मिएन ।
तात्कालिन प्रम गिरिजा कोइराला ले राष्ट्रपतिको रुपमा सरकारले रामवरण यादव उठाए, चुनावले यादवलाइ चयन गर्यो । पहिलो राष्ट्रपतिको चुनाव स्थगित भएपछी दोस्रो चुनावमा बहुमत प्राप्त गरि नेकपा माओवादीका उम्मेदवार राम राजा सिंहलाइ परास्त गरेर राष्ट्रपतिको रुपमा शितल निवास प्रवेश गरे । नेपाले जनताको छोरो देशको सर्वोच्च अंग सम्हाल्ने ब्यक्ती बन्यो । नेपाली जनता आशाको सपना बाचिरह्यो । अब त आनन्दको समय आउला भनी - पर्खी बसिरहे।
सभामुखको रुपमा संविधान सभाको सुवास चन्द्र नेम्वाङले नेतृत्व गर्न पाए । माओवादीले बहुमत ल्यायो र पहिलो पार्टी बन्यो र प्रचण्डले २०६५ भदौ २ मा प्रधानमन्त्री बने र पहिलो सरकार गठन भयो ।
पहिलो संविधान सभाले सभाको निचोड ( नया संविधान ) दिन सकेन । जसको फलस्वरुप देशले दोश्रो संविधान सभाक लागि चुनाव गर्नुपर्ने भो ।
माकुने झलनाथ बाबुराम जस्ता नेताले सत्तालाइ आफ्नै किसिमले चलाउन थाले । देशले संविधान पाएन । पहिलो संविधान सभाको चुनावको लागि देशले निकै अर्थतन्त्र गुमाइसकेको थियो । दोस्रो संविधान सभाको लागि चुनाव गर्दा र प्रतिनिधिमा राज्यको सम्पती दोहन गर्ने चलन बढ्दै गयो ।
बाबुरामको सरकारले पनि उचित दिशा दिन नसके पछि देशले प्रधानन्यायाधीश खिलराज रेग्मीलाइ मन्त्रीपरिषदको अध्यक्ष बनायो। रेग्मिको अध्यक्षता दोस्रो संविधान सभाको लागि चुनावको बारेमा निर्णय लिन सहज बनाइदियो । फलस्वरुप २०७० साल मंसिरमा दोस्रो संविधान सभाको लागि देशैभर चुनाव सम्पन्न भयो । जिल्लाले पतिनिधी पठायो - विभिन्न रस्साकस्सीका बिच देशले प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नेपालको संविधान २०७२ जारी गर्यो ।
आफू अनुकुलको संविधान जारी भएपछी अब त देशमा शान्ती अमन चयन कायम होला भनियो तर त्यो पनि सपनामा नै सिमित भयो। संविधान जारी भएपछी पनि विभिन्न अभावहरु लाई औल्याउदै देशको प्रगती र शान्तिमा वाधा उत्पन्न भैरह्यो । दोस्रो संविधान सभामा काङ्ग्रेस पहिलो स्थानमा आइपुग्यो, एमाले दोस्रो स्थान र माओवादी तेस्रो स्थानमा पुग्यो । देशले दोस्रो संविधान सभाको निर्वाचनको लागि ७ अरब ७५ करोड खर्च ब्यहोर्नु पर्यो ।
सुशील कोइरालाको नेतृत्वले संविधान दिएपछी पनि नेपालमा कुनै आशलाग्दा सरकारी योजनाहरु बाहिर निस्कन सकेनन् बरु राज्यदोहनको घटनाहरु बाहिरिदै गए ।
दोस्रो संविधान सभाले सरकारले देशलाइ संघिय राज्यमा रुपान्तर गर्ने निर्णय गर्यो र देशले २०७२ माघ ३ गते संविधान जारी गर्यो । सात प्रदेशमा विभाजन गर्यो - क्रान्ती हरु हुँदै गए । देशलाइ भार बढ्दै गयो, निर्णयहरु काचों काचों बन्दै गयो । देशका जनतालाई कर तिर्न हम्य हम्य भयो । संघिय ब्यबस्था अभिषाप हुँदै गएको छ ।
सुशील कोइराला पछि प्रधानमन्त्री बनेका केपी ओली पनि एक वर्ष पनि टिक्न सकेनन् । अशान्तिकै वावजुद देशले २०७२ सालमा भुकम्पको धक्का ब्यहोर्नु पर्यो । अलिअली जग बस्न नपाएको अर्थतन्त्रमा भुकम्पको धक्काले झन चकनाचुर भयो । देशले आयत गर्ने सामान बढ्न थाल्यो भने निर्यात गर्ने सामान हरुको उत्पादन कम हुन लाग्यो । ८-९ हजार जनता गुमाएको थियो नेपालले भुकम्पमा । देशले प्राकृतिक विनाशबाट सङ्लिन नपाउदै देशमा भारतको अघोषित नाकाबन्दी खेप्यो । अशान्तिबाट धर्मरिएको देशको संरचना अस्थायित्वमा पिल्सिन पुगिरह्यो । केपि ओलीले लिएको भारतको नाकाबन्दी विरुद्धको अडानले फेरी जनतामा उत्साह थपियो । आफ्नो अवधिमा जनतालाइ आशा दिलाएका र प्रतिनिधि सभाको चुनाव ताका राष्ट्रभक्ती भाषणमा देशका जनतालाइ आफ्नो पार्टितर्फ आकर्षण गरिरहे । यो बिचमा माओवादीमा निकै फुटहरु देखियो र प्रचण्ड निर्देशित माओवादी केन्द्र नेकपा एमालेमा मिसियो र नेकपा बनेर चिनिन लाग्यो । स्थानिय चुनाव, प्रादेशिक चुनाव र संसदिय चुनाव हुँदै संघिय ढाँचामा देशले संरचना पायो तर पनि कुनै फरक पाएनन नेपाली जनताले ।

माओवादी मिसिएपछिको एमालेको ( नेकपा ) विजयी आकार ठूलो भयो तर पनि देशले चाहेजस्तो प्रगती गर्न सकेन । चुनावको भब्य विजयपछिको कम्युनिस्ट मिलनले देशमा स्थायी सरकारको निर्माण भयो ।
जनताले अस्थायी सरकारको कारणले विकास नभएको भन्ने भ्रमबाट पनि छिटै मुक्ती पाए । देशमा स्थायी सरकार बनाएको केपि ओलीको सरकार विभिन्न कान्ड र झमेलामा फस्दै गयो । सपनाको आयतन बढाउदै गएका ओली एकाएक असफल साबित हुँदै गए । उनकै कार्यकालमा कृष्ण महरालाइ ( सभामुख ) लाई यौन काण्डमा राज्यले गिरफ्तार गर्यो । जनताको माझमा घटेका हत्या बलात्कारका घटनाहरु धमाधम गुपचुप हुन लागे । देशका गौरवका आयोजनामा धमाधम भ्रष्टाचारका तथ्यहरु बाहिरिन लागे । सरकारी विलासिताको लागि राज्यले निकै धनराशी खर्च गर्न लाग्यो । राष्ट्रपती विद्या देवी भन्डारीको पनि सरकारी विलासिताको आचरणले जताततै आलोचना बढ्दै गयो । प्रत्येक ठूला संवैधानिक अंगका प्रमुखहरु धमाधम भ्रष्टाचारको केशमा फस्न लागे तर सहजै उम्कन पाए । वाइड बडी काण्ड, सार्वजनिक जग्गा काण्ड,ओम्नी प्रकरण, यति प्रकरण, सुन काण्ड, पप्पु ठेकेदारी काण्ड, मार्सि चामल सम्झौता, बास्कोटा घुस काण्ड, सांसद अपहरण काण्ड सम्म ओली प्रशासन आफ्नै वरपरबाट फसिसकेको थियो ।
स्थायी सरकारबाट पनि न्युनतम उपलब्धी प्राप्त गर्न नसकेका नेपालीले अब केको गणतन्त्रमा खुसी मनाउन के क्रान्ती गर्न बाकिँ छ ?
क्रान्ती सफल भएको र देशले भोगेको संक्रमणकालिन अवस्था बाट शिक्षा लिदै फड्को मार्ने समयमा रुकुम पश्चिममा भएको जातिय विभेदको घटनाले देशलाइ र क्रान्तिका अगुवाहरु लाई लज्जित बनाएको छ । निर्मला पन्त जस्ता कति चेलीले हत्या र बलात्कार खेप्नुपर्छ - नवराज विक जस्ता कति युवाले आफ्नो प्रेम र ज्यान भेरीमा बगाउनुपर्छ ।
प्रेमको लागि, समानताको लागि लडेको यो विराट लडाइमा सहादत प्राप्त गरेका महान पूण्य आत्माहरुलाइ मेरो हृदयको अन्तिम विन्दु देखि विनम्र सम्मान, सलाम सहितको प्रेमपूर्ण अभिवादन।
परदेशबाट फर्किएको बाकसको लास देखि लासमा ओढाएको कात्रो सम्म राजनीतिको व्यापार गर्ने यो युगका ती सम्पूर्ण नेता भनिएका निर्दयी राजनीतिज्ञलाई पनि सम्मान त छ ।
२०७६ माघ देखि विश्वले कोरोना भाइरसको महामारीबाट गुज्रीनु पर्यो - देशले पनि त्यसको लागि तयारी गर्दै छ ।
यहि समयमा भारतले नेपालको कालापानी भुभाग सहित लिम्पियाधुरा लिपुलेकको जमिन आफ्नो नक्सामा देखाए पनि नेपालले यसको कडा शब्दमा प्रतिरोध गरेको छ । नेपालले नया नक्सा सार्वजनिक गर्यो र यसै विषयमा संविधान संशोधन गर्न उत्सुकता देखाएपनी किचलोकै कारण सम्भव भएको छैन ।
आज जेठ १५ गते देशले गणतन्त्रको दिवसको अवसरमा कोरोना भाइरस सम्बोधन गर्ने बजेट ल्याउदै छ । तर हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तो बजेट नहोस । हामी कामना गरौं ।
शुभकामना दिएर हुने त क्यै पनि होइन, नदिएर नहुने पनि क्यै होइन । मूलत: अझै अभावमा घर न घाट भएर भोकको गल्लीमा मरिरहेका सुर्य पाख्रीन, जातकै कारणले मर्नुपरेका अङ्गिरा पासी र नवराज विक, न्यायकै कारणले मर्नुपरेका अधिकारी दम्पती र सिटामोल र आयोडीन नपुगेरै मरेका तमाम अशान्त आत्माहरु प्रती क्षमायाचन गर्दछु ।
गणतन्त्रको विरुवा भएपनी सार्ने प्रयाश गर्ने तमाम सहिद नेपाली जनतामा गणतन्त्र दिवसको हार्दिक मंगलय शुभकामना ब्यक्त गर्दछु ।
जय देश जय गणतन्त्र
------------
Gopal Subedi ( Gopi )
(लेखमा प्रयोग गरिएका मितिहरुमा पूर्ण भर नपर्नुहुन र विश्वसनिय रुपमा सरकारी तथ्यलाइ आधार मान्नुहोला ।) पूर्णता नभएको कारण गहिरो अध्ययनको लागि उपयुक्त छैन तर सतह ज्ञानको लागि यो उपयुक्त छ । लेख गुगल र विकिपिडिया र केही सरकारी तथ्यलाइ आधार मानी लेखिएको छ । )
Kadaa dost
ReplyDeleteThanks Guru !
Delete