Monday, 7 November 2022

तिमी मसँग नहुँदा, तिम्रो सम्झना धेरथोर लाग्छ शून्य नभएरै हो 'एक', दस भन्दा कमजोर लाग्छ यी जालन्धरहरु पार्वती हेर्न कैलास हिडेँका हुन् ठीकै हो, दौलत हुनेहरुकै घरमा धेरै चोर लाग्छ
फोहोर गर्नेलाइ हो फोहोर, फोहोर लाग्ने भनेको फोहोर बोक्नेहरुलाइ फोहोर - मोहोर लाग्छ दुखले मान्छे मात्रै लाग्दैनन् मुगलान - हाम्रो तिर पूर्वको आँसु बोकेर मुगलान तर्फ - तमोर लाग्छ -Gopi

Sunday, 20 December 2020

के पुगेन ? कि धेरै भयो ?

हरेक भारीलाइ सन्तुलन आवश्यक छ । सन्तुलनको होस हुन्छ हरेकलाइ । सत्ताको कित्ताकाटमा सन्तुलन नमिल्नाले के फरक पर्छ ? 


गत चुनावको खर्च ३० अर्ब पुगेको स्रोतले बताउछ । ३० अर्ब ? झट्का लाग्यो नि । अब फेरि चुनाव ?


अब अर्को ३० अर्ब ? मजदुरले सन्तुलन गर्न नसक्ने भनेकै ऋणको भारी हो । 


एकजना दाइले भन्नुहुन्थ्यो, " तिम्रो लागि, हाम्रो लागी, तिम्रो हाम्रो सन्तानको लागि यो देश नै होइन, समय हुँदै सोच ।" 


What a frustrating scenario... 

It seems, labours were not affected directly by the current political situations, but they were significantly affected.


हिजो संसद विघटनको हावा लाग्ने बित्तिकै नेप्सेमा असाधारण गिरावट आयो । भोलि देखि महंगीको त्रास छुट्टै छ । कोभिडको संक्रमणमा कमि आएको छैन, पश्चिमा मुलुकहरुले बन्दाबन्दीलाइ प्राथमिकता दिदैं आएका छन् । हाम्रो देशको नेतृत्व वर्ग यस्तो छ । चोकचोकमा हुलदंगा हुन्छ । कोभिडको त्रासमा बाचेंका जनताको लागि अर्को ठूलो उपहार भैगयो । 


कसलाइ राम्रो मान्ने ? कसलाइ आफ्नो मान्ने ? अहंकारको कारण कोहि आफ्नो लाग्दैनन् । दैनिक मालपोतबाट घुसको रुपमा हजारौं भित्राउने कर्मचारी समाचार हेर्दै नेताहरुले देश बनाएनन भनेर सराप्छ । 


सवारी चालकको परिक्षामा एकपल्ट असफल हुँदा ८-१० हजार खर्च गरेर लाइसेन्स प्राप्त गर्ने युवा भनिरहेको छ, 'युवालाइ मौका दिनुपर्‍यो । बुढाखाडाले देशलाई धमिराले खाए जसरी ध्वस्त पारिसके ।'



लाखौं खर्च गरेर वडाध्यक्षमा चुनाव जितेको मान्छेले भ्रष्टाचार गर्दैन ? झन्नै करोड खर्च गरेर पालिका अध्यक्ष जितेको मान्छेले भ्रष्टाचार गर्दैन ? अनि करोडौं खर्च गरेर जितेको सांसदले भ्रष्टाचार गर्दैन ? 

अवश्य गर्छ - एक लाख खर्च गर्नेले २ लाख कमाउन खोज्छ, करोड गर्नेले अर्को करोड । डर कस्को लाग्छ र ? आफ्नै घर आफैं मालिक आफ्नै साचों ।

चुनावमा हार्नेले झन छुट्टै अवस्था छ । चुनावमा हार्नेले पनि खर्च त गरेकै हुन्छ । ऋण खोजेरै भएपनी । एउटा चुनावमा अस्थिरपन देखिएपछी अर्को चुनावमा उठ्ने त लगभग तिनै प्रतिनिधि हुन् । पहिलाको चुनावी खर्च, अहिलेको चुनावी खर्च त निकाल्नै पर्‍यो । खर्च सहयोग गर्ने दाताहरुको मन त राखिदिनै पर्छ । नातावाद कृपावाद यसरी मौलाउछ । 


जबसम्म एउटा छोराले गलत मार्गमा हिड्ने बाबुको विरोध गर्न सक्दैन, जबसम्म एउटा सालोले गलत मार्गमा हिड्ने भिनाजुको विरोध गर्न सक्दैन, 

जबसम्म एउटा साथीले गलत मार्गमा हिड्ने साथीको विरोध गर्न सक्दैन,

तब सम्म के हुन्छ ? विकास हुन्छ ? 


राजावादी आन्दोलनहरु पनि हुँदै गए । एक विचारले ठीकै लाग्थ्यो । जननिर्वाचित प्रधानमन्त्रीले त यतिसम्म असंवैधानिक कदम चाल्न सक्छन भने ? राजाले केके सम्म गर्न सक्लान ? ठीक छ ज्ञानेन्द्रले राम्रै गर्लान । तर सनक र कुण्ठाले ग्रसित जंगबहादुरले केके गर्न सक्ला ? 


केही आफन्तको विचार बुझ्ने अवसर पाएँ, धेरैको सोचाइ काङ्ग्रेस तर्फ मोडिएको थियो । यसलाई मैलें अनुचित भन्न खोजिन, तर कसरी हामीले पार्टीलाइ प्रधानता दिन सक्छौ ? हाम्रोलाइ होइन राम्रोलाइ रोजौं भन्ने भाषण सुन्दै सुन्दै आफ्नै भ्रष्टाचारी काकालाइ भोट हालिरहेका छन् भतिजहरुले । अबको युग युवाको नवीन सोचको लागि भन्ने जान्दा जान्दै पुरातनवादी ससुराहरुलाई भोट हालिरहेका छन् ज्वाइहरुले ? 


न त बदलाको शृङ्खला मेटियो, न घाममा शितल ताप्ने छहारी । न सूर्य काम लाग्यो ? न हसिया हथौडा ? न रुखका पातहरु, हागाहरु प्रयोगमा आउन सकें न हलोले क्रान्ती गर्‍यो ? न तराजुका पल्लाहरु सन्तुलित भएँ, आँखाहरुमा मोतिविन्दु लाग्यो, मादलले असुरहरुको गीतमा संगीत थपिदियो, साइकलहरुले पेट्रोल पिउन थाले। 


चिकित्सकहरु आन्दोलनमा छन्, बिरामी बने अस्पतालहरु, घाइते भएको छ स्ट्रेचर, प्यारालाइसिस भएका छन् एम्बुलेन्सहरु, सुकेको छ मुक्तिको मूल, असारको रोपाइमा खडेरी सुरु भैसक्यो, मंसिरको खलोमा बाढी पसिसक्यो, क्रान्तिको खलनायकहरुले स्लाइन लगाए, नायकहरुको तस्वीर छ, तस्वीरमा रातै रंगको माला छ । 


स्वतन्त्रता दिवस मनाउन फेरि परेवाहरु समातिएका छन्, भत्किएको छ भर्खरै बनाएको पुल, न जोसको कुनै मूल्य छ, न जोसको अर्थ ? 


उखुको रस नुनिलो कसरी हुन सक्छ ? कसरी हुन सक्छ, रारा तालमा रगतको व्यापार ? कसले सार्दैछ सगरमाथामा एच आइ भिको संक्रमण ? 


ओर्लिएर अहंकारको सिंहासनबाट आफ्नै चस्मा पुछ्नुभयो भने, प्रिय अप्रिय नायक ज्यू मर्नै लागेको मजस्ता करोडौं बिक्षिप्त नागरिकहरुको सङ्लो चित्र देखिनेछ । 


अहिलेलाइ श्राप तथा गाली गर्न पनि फुर्सद नभएको जनताको हिसाबले म हजुरसंग क्षमा प्राथी छु । अहिलेलाइ यति नै । 

- राष्ट्रप्रेमी जनताको एक अंश 

:) Copied from Social Media...

Thursday, 13 August 2020

मृत्युशैय्यामा प्रश्न ??

-

'जिन्दगी' शिर्षकको निबन्धमा,

बन्धमा  एकदिन जरुर लेख्नु पर्नेछ अन्तिम हरफ 


साथी,

प्रवेश परिक्षामा चिनो लाएको

वैकल्पिक उत्तर जस्तो सहज हुनेछैन 


न त हुनेछ, 

साथीलाइ चिठ्ठी लेखेजस्तो 

न हुनेछ प्रअ लाई बिदाको निवेदन मागे जस्तो 

न हुनेछ साधारण ब्याज निकाले जस्तो


हुनेछ, एकदमै सशंकित हुनेछ 

अविवाहित किशोरीले वान्ता गरेपछिको 

शंका उपशंका जस्तै 

--

हुनेछ, एकदमै निर्दयी हुनेछ,

टुहुरो सन्तानलाइ

बाबुआमा को बारेमा सोधेको प्रश्न जस्तै 

--

हुनेछ, गाह्रो हुनेछ साथी,

बलात्कृत चेलीको अन्तर्वाता हेर्न सुन्न जस्तै


आफैँ सोच साथी, 

ढुङ्गा चबाएर चामलको निबन्ध लेख्न कत्तिको 

सजिलो हुन्छ ?


बरु सजिलो होला - 

पग्लिएको धातु समाउन

अग्लिएको चट्टान सम्याउन

तर, जिन्दगीको अन्तिम प्रश्नको अन्तिम हरफ भयानक हुनेछ  

--

के छ तिमीसंग ?

के लेख्छौ, अन्तिम हरफमा ?


आमाको उपकार त 

तिमीले वृद्धाश्रममा लगेर बेचिसकेका छौ 


बाबुको त्यागलाइ त 

तिमीले गैरी खेतसंग मोलतोल गरिसकेको छौ


समाजको सदस्यता त

तिमीले वर्षौ अघिको भेलमा बगाइसकेको छौ


केबल छ तिमीसंग 

बाआमाको ठगेको एक दुई खात वृद्धभत्ता


बन्धुको कमजोरी बेचेर 

किनेको दस आठ आना घडेरी


होला,

साथीको विश्वास निचोरेर

जम्मा गरेको दुईचार तोला सुनको औँठी होला

--

चलचित्रको 

मध्याह्न पछिको भाग

छिटो सकिए झैं छिटो सकिन्छ 

जिन्दगीको दोश्रो भाग 

--

ज्युदैमा बुझ्न मन छ भने- हिडँ


सुन्ने तागत छ भने आऊ,

म सुनाउन सक्छु - विवशताको ध्वनी


हेर्ने नै अठोट गरेको छौ भने 

म देखाउन सक्छु - क्रुरताको दृश्य

--

साथी,

आऊ एक घडी आश्रममा थकाइ मारौं 

यहाँ भेटिन्छन् - 

खस्न लागेका निधारका अक्षताहरु 

भेटिन्छन्

ओइलाइसकेका गुलाफहरु, 


जसका चाहनाहरु घोटिएर खिइसकेका छन् 


आऊ बस- साथी,

चौतारीमा परिक्रमा गर्नु अघि 

सायद तिम्रो पनि अस्थायी बसोबास यतै हुनेछ


जीवनको गणित

छिटो सुरु गर !

नत्र ढिलो हुनेछ - अध्याय राम्ररी छिचोल्न 


आउनेछ, एकदिन जरुर आउनेछ

तिम्रो जीवनको अन्तिम घडी

त्यो दिन तिमीसंग 

न रोकिनको लागि समय हुनेछ 

न पछुताउनको लागि समय हुनेछ

न क्षमा माग्नको लागि समय हुनेछ 


समय छदैँ बदल्दै हिडँ आफूलाइ

माग्नु छ भने माग क्षमा- समयमै 

पछुताउनु छ भने पछुताऊ - समयमै 


तर,

तयारी रहनू, साथी 

समय निकै छोटो हुनेछ 

लेख्नैपर्ने अनुभवहरु निकै हुनेछन्

छुटाउनै नहुने शिक्षाहरु अधिक हुनेछन् 


खुलाउनु पर्नेछ 

आसामीका तमसुकहरु 

ऋणका मुठ्ठीहरु 


जोडघटाउ गर्नै पर्नेछ - पुण्यका हिसाबहरु

फोर्नुपर्नेछ - पापका ढिकुटीहरु 


साथी,

यो त छोडेर जानु छदैँ छ

फक्रीन लागेको अहंकारको खेती

भरिन लागेको लोभको भकारी 

सुक्न लागेको ईर्ष्याको बिस्कुन


तर जरुर 

एकदिन छिटै आउनेछ 

जिन्दगीको अन्तिम घडी 

तिम्रो प्रश्नपत्रमा अन्तिम भयानक प्रश्न लिएर,


प्रश्न,

सुनिसके पछि 

हेरीसके पछि 

यति त पक्कै हुनेछ 

तिमी - स्वयं तिमी रहने छैनौ !


-- समाप्त 


- Gopi

Monday, 8 June 2020

भेदभाव ( कविता )

" भेदभाव "

तिम्रो लागि उदाएको घाम
मेरो लागि पनि ठीक त्यसरी नै उदायो,

तिम्रा लागि फुलेका फूलहरु
मेरा लागि पनि त्यसरी नै फुले,

समय भासिदै गयो,
तिमी मेरै काँधमा चढेर उत्रदै गयौ
म तिम्रै कारणले गाडिदै गएंं

समयले आजसम्म पनि
मलाइ तिम्रो बनाइरह्यो
तर
कहिल्यै तिमीलाइ मेरो बनाउन सकेन

Gopi

Thursday, 4 June 2020

धरणी ( शार्दुलविकृडीत छन्द )

जुन ५ अर्थात विश्व वातावरण दिवस । यसै अवसरमा यो कबिता पढौँ ।

धरणी ( कविता )

टुक्रा प्लास्टिक धातुले जमिनको, उर्जा गयो नासिदै 
खै जंगल् कति शेष रैछ अहिले? उद्योगमा मिसिदैँ 
बन्दैनन् किन ओखती मुलुकमा, बारुद बनेछन् किन 
होला एक असर र एक नतिजा, मान्छे छिटो मासिन -१

पानी वायु र अग्नि हुन् प्रकृतिका, सुन्दर अचल् सम्पती
भू - आकाश  हिमाल  सागर  नदि, प्राणी र जंगल् पनि
हत्याको बदला दिएर ममता, माया सिकाइन् सधैं
मैलो रोग घृणा लिदैं प्रकृतिले, जीवन बचाइन् सधैं-२
 
मैनाका स्वरमा सधैं भजन यो, गुन्जिन्छ भन्ज्याङमा 
सोभा बढ्छ झनै सुगा हरिणले, नाच्दा घना झ्याङमा 
सीता राम अगस्त्य बुद्ध मुनिको, यो पुण्य श्रीभूमि हो
ॐ भन्ने ध्वनि गुन्जदा सगरमा, स्वर्गै पुगेझैं भयो- ३

के कर्तव्य छ चेतको जगतमा, पुस्ता बचोस् लोकको
ईश्वर हुन् धरणी सधैं म र तिमी, सम्मान् गरौ भूमिको 
यो वातावरणै छ एक सबको, हामी तिमी भर परौं
आफ्नै दौलत हुन् सुशील धरणी, आफैं सुरक्षा गरौं -४

- गोपाल सुबेदी ( Gopi )

Wednesday, 3 June 2020

फक्रीनु पर्ने कोपिलाहरु चुडिँदा तपाइको हृदयमा हलचल हुदैँन ?

साथिहरु संग चिया खाने सल्लाह भयो र कलेज छेउकै होटलमा गयौँ । साथिहरुले चिया मगाए, केही समोसा र केही सेलरोटी । खाजा खादैं गर्दा सुमनको चिया पोखियो । टेबुलभरी चिया छताछुल्ल भयो । होटलको दाइलाइ टेबुल पुसिदिन अनुरोध गर्‍यौ । दाइले एउटा कामदारलाइ पठाउनु भयो । उसले सरासर टेबुल पुछ्यो - जुठा भाँडा उठाएर हिड्यो । बच्चा थियो कामदार त्यस्तै ९- १० वर्षको ।
--



हिलो छ बाटो आज । कामबाट निस्किएपछी एउटा सहकर्मीले वर्षातको चित्रण गर्दै मौनता भंग गरायो । अफिस अघि नै सरकारी पार्क छ । पार्कमा कटन क्यान्डी बेच्ने प्रसस्तै मान्छेहरु भेटिन्छन् ।अधिकांश सबै बालकहरु हुन्छन् । चिसो लुगामा अलिअली काँडा उमार्दै एउटा ११-१२ वर्षको भाइ आउँछ र सोध्छ । 
" दाइ कटन क्यान्डी खाने ? "
- नखाने भाइ ।
" एउटा खाइदिनु न दाइ " 
- मलाइ मीठो लाग्दैन अरुलाइ बेच न ।
" आज व्यापार नै भको छैन दाइ पानी परेर - खाइदिनु न "
- निकै कर गरेपछी मैले एउटा लिएँ । उ खुसी भयो ।

आफ्नो भविष्य हेरेर उसले कहिल्यै मुस्कुराउन पाएन ।
--

रेडियो नेपाल मलाइ साह्रै मन पर्छ । पुराना लोकगित र स्रष्टाहरुको कति मजाले गुणगान गाउँछ । सात बज्यो र समाचार बज्यो । कति मीठो हुन्छ नि रेडियो नेपालमा समाचारको धुन । प्रमुख समाचार भन्दै जादा कुनै साह्रै नराम्रा समाचार सुन्दा मनै गलेर आउँछ । आज पनि यस्तै समाचार आयो ।

" १२ वर्षे बालिकाको बलात्कार पछि हत्या "

--
दिदीलाइ चावहिलमा पुर्‍याएर म कोठा फर्के - बसमा निकै भीड थियो - सरकारमा पुगेका केही अनुहार सम्झदै बसमा चढेँ । कौशलटार आएपछि मैले रु. ५० र विद्यार्थी परिचय पत्र दिएँं । परिचय पत्र नहेरी उसले भाडा काट्यो । अंग्रेजी भाषामा लेखिएको थियो कार्डको विवरणहरु । जहाँसम्म लाग्छ उसले अंग्रेजी पढ्न जान्दैन । अन्दाजी १५ वर्षको किशोरले बसमा सहयोगी भएर काम गर्न लागेको केही वर्ष भयो होला । भाडाको हिसाबकिताबमा ऊ जान्ने छ ।

उसले पनि आफ्नो बालापन अधिकार नपाउदै गुमायो ।

--

राती अबेर सम्म फिल्म र सेरिजहरु हेरिसकेपछी १२ बजे तिर सुतिन्छ । ढिलो सुतेपछी उठ्न त्यस्तै आठ बजिहाल्ने । साढेँ पाँच तिरै दिदी " पत्रीका आइपुग्यो " भनेर पत्रीका ढोका अगाडि राखेर साइकलको घण्टी बजाउदै बस्तीको बीचतर्फ प्रवेश गर्छ एउटा स्वर ।
घरमा पुजा भएको कारणले आमाले छिट्टै उठाउनु भयो । आमासंग रिसाउदै आँखा मिच्दै उठें र बाहिर निस्के । एउटा साइकल आयो र पत्रीका आयो भन्दै ढोकामा पत्रीका छोडेर गयो । त्यस्तै ११-१३ वर्षको बालक यति बिहानै काम गर्न हिडिरहेको छ । आफैँलाइ लाज लाग्यो । सधैँ 'पत्रीका आयो' भन्ने बालक रहेछ । त्यसपछी म कमसेकम सबेरै उठ्न लागे ।

उसले पनि अक्षर पढ्ने उमेरमा अक्षर बेचिरहेको थियो ।

--

जेठको महिना सुरु भयो । लेकतिर यार्सागुम्बाको मौसम छ । यार्सा टिप्ने ठूलो जमात भेटिन्छ । वृद्ध, अधवैशें, युवा, किशोर र बालबालिकाको हुलहरु यार्सा टिप्न रुकुम डोल्पा तर्फ लाग्छन् । अप्ठ्यारा भिरहरुमा चिप्लिएर र चिसोमा कठ्याङ्ग्रीएर कति बालबालिका त्यतै सिकिस्त विरामी हुन्छन् । सरकार सुरक्षित भएर उपत्यकामा बसेको छ । लेकमा बिरामी भएका बालबालिकाहरु को नराम्रो खबर सरकारले सुन्ने बेलामा अर्को आर्थिक वर्ष लागिसक्छ । हिमाली सदरमुकाममा अधिकांश बिहानै चिया बेच्नेहरु बालबालिका हुन्छन् ।

--
हरिशंकर दाइ आज मलिन बढी छन् - खुसि कम छन् । उहाँकी श्रीमतीले आज बच्चा जन्माउदै हुनुन्छ । सुडेनी कक्षको अघिल्लो गारोमा बसेर बिहानै एउटा चुरोट उडाइसकें। बच्चा पाएको खबर सुनेर खुसी भए । छोरो भएको रहेछ । खुसिले सम्हाल्न सकेनन् - बरर आँसु झारे । छोरोको अनुहार हेरेँ । चौथो सन्तानको रुपमा उनले छोरो पाएका थिए । खुसिले उचाले छोरालाइ - श्रीमतीको निधारमा प्रेमले चुम्बन गरे । 

तीन ओटी छोरीलाइ उनले कहिल्यै त्यसरी प्रेमले सम्हालेका थिएनन् न त श्रीमतीलाई नै । छोरो जन्माएकै कारणले उनी यति पुलकित छन् । 

जन्ममै विभेद बोकेर जन्मिएका नारिहरुले कति प्रगती गर्लान र ?
--
छोरीले घाँसको भारी ल्याएपछी मात्रै विद्यालय पठाउछन् कति बाबुआमा हरुले । भारिले वजनले अररो बनाएको टाउकोमा कसरी अंकगणित पढ्छन् ती किशोरीहरु ?

--

प्रहरीको रिपोर्टमा हराएका र अपहरणमा परेका बालबालिकाको सुचि लामै होला । हालसालै एक बालकको अपहरण पछि हत्या भएको सुन्नु भएको नै होला । फक्रीनु पर्ने कोपिलाहरु चुडिँदा तपाइँको मनमा हलचल आउदैन ?
--
वर्षौ भयो क्रान्तिको नाममा आन्दोलन गरेको तर के भयो उपलब्धी ? 

मनकामनाको मन्दिरमा फूल बेच्ने देखि, झुमा प्रथामा पिल्सिएका बालिकाहरु, अछामको छाउगोठमा सर्पसंग जीवन बलिदान गर्ने अवोध किशोरीहरु, पारिवारिक आवश्यकता हरु पूरा गर्न ग्राहक खोज्ने बसपार्कका नारिहरु, मुगलानमा फसेका हजारौँ नेपाली दाजुभाइ हरु, बालविवाहमा संलग्न भएका बालिकाबाट जन्मेका सन्तानहरु सबै सबै बालबालिका अत्याचार र बाध्यताबाट गुज्रीरहेका ज्वलन्त उदाहरणहरु हुन् ।

चेवन प्रास, भिवा, हर्लिक्स र कम्प्लान खाएर बाचेका बालबालिका र सर्वोत्तम पिठो र आमाको पोसिलो दुध खान नपाएका बालबालिकामा कयौँ गुणा फरक छ । स्तरिय बोर्डिङ स्कुलमा पढेका बालबालिका र सरकारी विद्यालयमा पुस्तक नपाएर पढ्न नसकेका विद्यार्थीहरु मा अन्तरको सीमा प्रष्टै देखिन्छ । 

बालबालिकामा विभेद, बालक र बालिकामा विभेद, वर्गिय बालबालिकामा विभेद, बालबालिकाका हक र अधिकारमा राजनीति गर्ने र बालबालिकाको हक सुनिश्चित गर्ने नाममा डलर खेती गर्ने तमाम बिचौलियामा खबरदार ।

भोलिका राज्यका भविष्यहरुमा परेको अत्याचारको विरुद्धमा आजै देखि प्रदर्शन गरौं । शान्तिको प्रतीक जन्मिएको यो मुलुकमा सबैले सबैलाई शान्तिकै मार्गमा अघि बढ्न हौसला दिऔं र प्रेरित गरौं ।

आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस । प्रेम गरौं - गलत बाटोमा लागेका बालबालिकालाइ खबरदार गरौं। संयमित रहौं सबैलाइ बालबालिका माथि अत्याचार विरुद्धको दिवसको मूर्त शुभकामना ।

- Gopi ( Gopal Subedi ) 
Photo : Google 

Thursday, 28 May 2020

क्रान्ती - प्रजातन्त्र - पन्चायत - लोकतन्त्र र गणतन्त्र प्राप्त तैपनी निराशा किन ?

क्रान्ती - प्रजातन्त्र - पन्चायत - लोकतन्त्र र गणतन्त्र प्राप्त तैपनी निराशा किन ?



हामी नेपाली - पहिला निकै गर्व लाग्थ्यो, अहिले लाग्दैन । पहिला भिमसेन, अमरसिंह, बलभद्र, पृथ्वीनारायण, देव शमशेर जस्ता विरहरुको विरताको रगतले सिंचिएको थियो । अहिले मुर्दाहरुले शासन गरिरहेका छन् ।

देशले भिमसेन थापा मुक्तियार पायो, विभिन्न कुरामा फसाएर आत्महत्या गर्न लगाइयो । क्रमैसंग रंगनाथ, पुस्कर, रण ब., माथवर सिंह, फत्तेजंग हुँदै राजा सुरेन्द्र, राजेन्द्रको समयमा जंग बहादुरले श्री ३ पदवी लिएर कोत पर्व, भन्डारखाल पर्व, अलौ पर्व मच्चाए ।

जनताले आफ्नो दुख घटाउने मौका पाएनन् । राणा शासनले १०४ वर्ष देश चलाए, कतिले राम्रो काम गरे, कतिले नराम्रो काम गरे । वीर शमशेरले अस्पताल खोले, चन्द्र शमशेरले सति प्रथा हटाए, त्रिचन्द्र कलेज खोले । समय परिवर्तन भयो, शासक परिवर्तन भए, वि.सं. १९९७ मा आजादी र प्रजातन्त्रको माग गर्ने धर्मभक्त, शुक्रराज, गंगालाल, दशरथ जस्ता ब्यक्तिहरु सहिद भए, यो घटनाले ढिलै भएपनी देशमा एक आशाको किरण जगायो । धेरैथोरै क्रान्ती भयो - त्रिभुवनले जनतालाई सहयोग गरे - देशमा सहिदको बलिदानको १० वर्ष पछि वि.सं. २००७ सालमा प्रजातन्त्र आयो । अब त चैनको श्वास फेर्न पाइएला भनेर जनताहरु ढुक्क थिए तर त्यसो भएन ।

त्रिभुवनको शेषपछी महेन्द्र गद्दीमा सवार भए । ०१७ साल तिर निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाइ बन्दी बनाए र शासनलाई आफ्नो कब्जामा लिए र एकाधिकार शासन लागू गर्न लागे । देशले निर्दलिय शासन पायो । अत्याचार र आतंक चल्दै गयो, राम्रा काम पनि अलिअली भए । जनताले आनन्दको श्वास अझैं फेर्न पाएनन् ।

वि सं. २०२८ सालमा राजा महेन्द्रको चितवन भरतपुरमा सिकार खेल्ने क्रममा हृदयघातको कारणले मृत्यु भयो । त्यसपछी बिरेन्द्र राजा भए । ( उपयुक्त समय नभेटिएकाले उनको राज्यारोहण ३ वर्ष पछि भएको थियो ।)

वि. सं. २०३६ साल वैशाखमा राजा विरेन्द्रले घोषणा गरेका सुधारिएको पन्चायत कि बहुदल भन्ने जनमत संग्रह वि. सं. २०३७ सालमा सम्पन्न भएकोमा बहुमत पन्चायतको तर्फ खस्यो । देशले फेरि पनि पन्चायतलाई स्वागत गर्यो ।

यो ब्यवस्था पनि जनतालाइ उचित लागेन । नेपाली कांग्रेसको नेतृत्वमा कम्युनिष्ट मोर्चाहरु मिलेर बहुदलका लागि जनआन्दोलन लाई मूर्त रुप दिने प्रयाश गरे जुन सफल पनि भयो । लगभग पचास दिनको क्रान्तीकारी आन्दोलन पछि देशले बहुदलिय ब्यवस्था पायो । निर्दलिय पन्चायत शासनको अन्त्य भयो । आनन्दका सुस्केरा नियाल्ने जनताका शासन भने अझै पूरा हुन सकेनन् । केही न केही अभाव छ भन्ने लागिरह्यो ।

राजालाइ वैचारिक तवरले औला उठाउने एकीकृत माक्र्सवाद लेलिनवादका प्रखर ब्यक्तित्व कमरेड मदन भण्डारी र जीवराज आश्रीतको दासढुङ्गा घटनामा वि.सं. २०५० साल जेठमा हत्या भयो । देशले कोल्टे फेर्ने सबैलाइ आशा भएता पनि देशले क्रान्तिको त्यो उचाइ कहिल्यै भेट्न सकेन । आन्तरिक खिचातानीमा र बाहिरी शक्तिको प्रभावले देशले आफ्नो विकाश र शान्तिको उचाइमा उडान भर्न सकेन ।
अन्तत देशले माओवादीको जन्म दियो ।

देश विषम परिस्थितितर्फ मोडिरहेकै बेला २०५२ सालमा माओवादीको उदय भयो जसको मुख्यत: लक्ष्य देशमा राजतन्त्रको अन्त्य गर्नु र गणतन्त्रको उदय गर्नु थियो ।

माओवादीले सानातिना आन्दोलन, भुमिगत आन्दोलन खेल्दै, विभिन्न राजनीतिक पृष्ठभुमि तयार गर्दै गयो । रामेछापको बेथान चौकी आक्रमण हुँदै रुकुम सांसद यदु गौतम हत्या जस्ता सर्वसाधारण जनताको हत्या गर्दै राजाको शक्तिलाइ परास्त हुने दियो बालेर हिडिरहेको थियो ।

नेपाली जनताले आशा गरेका राजा विरेन्द्रको वि.सं २०५८ सालमा सपरिवार हत्या भयो । राजाको हत्यापछी मुलत देशको राजनीतिक धरातल फरक भयो । दिपेन्द्र बेहोस थिए - बेहोसीमै राजा भएर मरे । यो घटनाको आजसम्म पनि रहस्य पत्ता लाग्न सकेन । राजाको हत्या पछि राजाको शक्तिमा समेत धक्का लागेर राज्य शासन कमजोर बन्दै गयो । राजा ज्ञानेन्द्र सत्तामा बसेपछी कमजोरीको फाइदा उठाउदै माओवादीले आफ्नो संग्राम बढाउदै लग्यो । राजाले आफ्नो किसिमले शासन अनुमती दिन लागे ।

२०५८ साउन १० गते विद्रोही पक्ष र राज्य पक्ष बीच युद्ध विरामको घोषणा भयो । फेरि मंसिर ७ मा माओवादीले दाङको घोराहिमा सैनिक इलाकामा आक्रमण गरेर निकै हातहतियार कब्जा गर्‍यो ।

२०५९ सालमा ठाउँठाउमा आक्रमण जारी राख्दै जेठमा बामपन्थी पत्रकारको हत्या भयो । माओवादीले भुमिगत आक्रमण जारी राखिरहेकै थियो ।

२०६० साल साउन २७ देखि भदौ १ सम्म प्रारम्भिक रुपमा माओवादी - सरकार बिच शान्तिवार्ता सम्झौता, छलफल भयो ।

तर साउन ३२ गते नै नेपाली सेनाले १६ जना रामेछापको दोरम्बामा ( माओवादी र सर्वसाधारणको ) हत्या गरेपछी देशमा क्रान्ति र विद्रोहको बिरुवामा झन मलजल पुग्यो ।

भदौ १० मा पुगेर युद्ध विराम भंग भयो । पत्रकारहरु मार्ने शिलशिला चलिरह्यो । २०६० कै माघ फागुनमा काभ्रेमा मैना सुरुवार हत्याकान्ड भयो । उनलाइ बलात्कार र हत्या गरेको आरोप उक्त सैनिक केन्द्रका तात्कालिन केही सैनिक अधिकृत ए महासेनानीलाई लागेको थियो ।

चैत्रको पहिलो हप्तामा बेनी आक्रमण घट्यो । जसमा करिब ५०० (अनुमान) को हत्या भएको आशंका गरिएको छ ।

२०६१ साल माघ १९ मा तत्कालीन देउवा सरकारलाई वर्खास्त गरि राजाले आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेर प्रत्यक्ष निरंकुश शासन गरे । यसपछी संसदवादी दलहरुले आफ्नो आन्दोलन सुरु गरे ।

२०६२ जेठ २३ मा बादरमुडे घटना भयो । चितवनको माडीस्थित बादरमुढेमा माओवादीको नेतृत्वले थापेको विद्युतिय धराप राखेर सर्वसाधारण चढेको बसमा आक्रमण गर्दा ४१ सर्वसाधारणको हत्या भएको थियो ।

२०६२ साल मंसिरमा सात पार्टी र माओवादी पक्ष बिच युद्ध रोकेर वार्तामा आउन सहमती भयो । यो दिल्लीमा भएको वार्ता हो, जसमा १२ बुदेँ सम्झौता भएको थियो ।

२०६२ चैत्र २४ बाट दोस्रो जनआन्दोलनको सुरुवात भयो, दमनकारी राजतन्त्रको विरुद्धमा । जनआन्दोलन दोस्रो पनि सफल भयो । २०६३ वैशाख ८ मा जनताको नासो जनतालाइ फिर्ता गरिदिएको भन्ने घोषणा पश्चात वैशाख ११ मा राजाले फेरी संसदको पुनर्स्थापना भएको घोषणा गरे - जुन दिन लोकतन्त्रको फेरि  हासिल भयो ।

२०६३ मंसिर ५ मा भएको सात दलको नेपाल सरकार र नेकपा माओवादी बिच भएको सम्झौतालाई 'बृस्तृत शान्ति सम्झौता' भनियो । सात दल र नेकपा माओवादी पनि मिलेर आठ दलले आन्तरिक संसद बनेको थियो । संविधान सभा बनी संविधान नलेखिन्जेलको लागि उक्त अन्तरिम संसदले अन्तरिम संविधान जारी गर्यो ।

अन्तरिम संविधानले राजाको अन्त्य गर्यो र २०६४ साल जेठमा संविधान सभाको चुनाव गर्न निर्देशन दियो । राजनीतिक खिचातानी र संक्रमण हटाउदै तेस्रो पटकमा चैत्र २८ मा चुनाव हुने निर्णय भयो ।


द्वन्द्वकाल, संकटकाल र क्रान्ती, आतंक बम वारुद हत्या बलात्कार, अपहरण, चन्दा, फिरौती जस्ता कुराबाट आजित भएका जनताले आनन्दको अमन चयनको स्वागत गर्न थालिसकेका थिए । जनताको अमन चयन निकै समय लामो समयसम्म चल्न सकेन । १७००० + मानिसको जान अन्जानमा भएको बलिदानको फलस्वरुप देशमा २०६४ चैत्र २८ मा देशभर संविधान सभाको लागि चुनाव सम्पन्न भयो ।

आफ्ना बाआमा गुमाउन परेको शोकको, छोरा छोरी आफन्त गुमाउन परेको शोकलाइ जितेर निकैले भोट हाल्न गए, आन्दोलनमा घाइते भएकाहरु ले नयाँ नेपालको दियो जलाउन उत्सुकता पूर्वक भोट हाले । देशमा माओवादीको डर अझैँ थियो । क्रान्तिलाइ कलममा टुंगाएर जिल्ला जिल्लाबाट प्रतिनिधिहरु पठाएर जनताले संविधान लेख्न पठाए ।

निर्वाचन पश्चातको संविधान सभाले देशमा राजतन्त्र अन्त्य भएको र देशमा गणतन्त्र लागू भएको घोषणा गर्‍यो । यो दिन २०६५ जेठ १५ थियो । गणतन्त्र जन्मियो तर अमनचयन जन्मिएन ।
तात्कालिन प्रम गिरिजा कोइराला ले राष्ट्रपतिको रुपमा सरकारले रामवरण यादव उठाए, चुनावले यादवलाइ चयन गर्यो । पहिलो राष्ट्रपतिको चुनाव स्थगित भएपछी दोस्रो चुनावमा बहुमत प्राप्त गरि नेकपा माओवादीका उम्मेदवार राम राजा सिंहलाइ परास्त गरेर राष्ट्रपतिको रुपमा शितल निवास प्रवेश  गरे । नेपाले जनताको छोरो देशको सर्वोच्च अंग सम्हाल्ने ब्यक्ती बन्यो । नेपाली जनता आशाको सपना बाचिरह्यो । अब त आनन्दको समय आउला भनी - पर्खी बसिरहे।

सभामुखको रुपमा संविधान सभाको सुवास चन्द्र नेम्वाङले नेतृत्व गर्न पाए । माओवादीले बहुमत ल्यायो र पहिलो पार्टी बन्यो र प्रचण्डले २०६५ भदौ २ मा प्रधानमन्त्री बने र पहिलो सरकार गठन भयो ।
पहिलो संविधान सभाले सभाको निचोड ( नया संविधान ) दिन सकेन । जसको फलस्वरुप देशले दोश्रो संविधान सभाक लागि चुनाव गर्नुपर्ने भो ।

माकुने झलनाथ बाबुराम जस्ता नेताले सत्तालाइ आफ्नै किसिमले चलाउन थाले । देशले संविधान पाएन । पहिलो संविधान सभाको चुनावको लागि देशले निकै अर्थतन्त्र गुमाइसकेको थियो । दोस्रो संविधान सभाको लागि चुनाव गर्दा र प्रतिनिधिमा राज्यको सम्पती दोहन गर्ने चलन बढ्दै गयो ।

बाबुरामको सरकारले पनि उचित दिशा दिन नसके पछि देशले प्रधानन्यायाधीश खिलराज रेग्मीलाइ मन्त्रीपरिषदको अध्यक्ष बनायो। रेग्मिको अध्यक्षता दोस्रो संविधान सभाको लागि चुनावको बारेमा निर्णय लिन सहज बनाइदियो । फलस्वरुप २०७० साल मंसिरमा दोस्रो संविधान सभाको लागि देशैभर चुनाव सम्पन्न भयो । जिल्लाले पतिनिधी पठायो - विभिन्न रस्साकस्सीका बिच देशले प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा नेपालको संविधान २०७२ जारी गर्यो ।

आफू अनुकुलको संविधान जारी भएपछी अब त देशमा शान्ती अमन चयन कायम होला भनियो तर त्यो पनि सपनामा नै सिमित भयो। संविधान जारी भएपछी पनि विभिन्न अभावहरु लाई औल्याउदै देशको प्रगती र शान्तिमा वाधा उत्पन्न भैरह्यो । दोस्रो संविधान सभामा काङ्ग्रेस पहिलो स्थानमा आइपुग्यो, एमाले दोस्रो स्थान र माओवादी तेस्रो स्थानमा पुग्यो । देशले दोस्रो संविधान सभाको निर्वाचनको लागि ७ अरब ७५ करोड खर्च ब्यहोर्नु पर्‍यो ।

सुशील कोइरालाको नेतृत्वले संविधान दिएपछी पनि नेपालमा कुनै आशलाग्दा सरकारी योजनाहरु बाहिर निस्कन सकेनन् बरु राज्यदोहनको घटनाहरु बाहिरिदै गए ।

दोस्रो संविधान सभाले सरकारले देशलाइ संघिय राज्यमा रुपान्तर गर्ने निर्णय गर्यो र देशले २०७२ माघ ३ गते संविधान जारी गर्यो । सात प्रदेशमा विभाजन गर्‍यो - क्रान्ती हरु हुँदै गए । देशलाइ भार बढ्दै गयो, निर्णयहरु काचों काचों बन्दै गयो । देशका जनतालाई कर तिर्न हम्य हम्य भयो । संघिय ब्यबस्था अभिषाप हुँदै गएको छ ।

सुशील कोइराला पछि प्रधानमन्त्री बनेका केपी ओली पनि एक वर्ष पनि टिक्न सकेनन् । अशान्तिकै वावजुद देशले २०७२ सालमा भुकम्पको धक्का ब्यहोर्नु पर्‍यो । अलिअली जग बस्न नपाएको अर्थतन्त्रमा भुकम्पको धक्काले झन चकनाचुर भयो । देशले आयत गर्ने सामान बढ्न थाल्यो भने निर्यात गर्ने सामान हरुको उत्पादन कम हुन लाग्यो । ८-९ हजार जनता गुमाएको थियो नेपालले भुकम्पमा । देशले प्राकृतिक विनाशबाट सङ्लिन नपाउदै देशमा भारतको अघोषित नाकाबन्दी खेप्यो । अशान्तिबाट धर्मरिएको देशको संरचना अस्थायित्वमा पिल्सिन पुगिरह्यो । केपि ओलीले लिएको भारतको नाकाबन्दी विरुद्धको अडानले फेरी जनतामा उत्साह थपियो । आफ्नो अवधिमा जनतालाइ आशा दिलाएका र प्रतिनिधि सभाको चुनाव ताका राष्ट्रभक्ती भाषणमा देशका जनतालाइ आफ्नो पार्टितर्फ आकर्षण गरिरहे । यो बिचमा माओवादीमा निकै फुटहरु देखियो र प्रचण्ड निर्देशित माओवादी केन्द्र नेकपा एमालेमा मिसियो र नेकपा बनेर चिनिन लाग्यो । स्थानिय चुनाव, प्रादेशिक चुनाव र संसदिय चुनाव हुँदै संघिय ढाँचामा देशले संरचना पायो तर पनि कुनै फरक पाएनन नेपाली जनताले ।



माओवादी मिसिएपछिको एमालेको ( नेकपा ) विजयी आकार ठूलो भयो तर पनि देशले चाहेजस्तो प्रगती गर्न सकेन । चुनावको भब्य विजयपछिको कम्युनिस्ट मिलनले देशमा स्थायी सरकारको निर्माण भयो ।

जनताले अस्थायी सरकारको कारणले विकास नभएको भन्ने भ्रमबाट पनि छिटै मुक्ती पाए । देशमा स्थायी सरकार बनाएको केपि ओलीको सरकार विभिन्न कान्ड र झमेलामा फस्दै गयो । सपनाको आयतन बढाउदै गएका ओली एकाएक असफल साबित हुँदै गए । उनकै कार्यकालमा कृष्ण महरालाइ ( सभामुख ) लाई यौन काण्डमा राज्यले गिरफ्तार गर्‍यो । जनताको माझमा घटेका हत्या बलात्कारका घटनाहरु धमाधम गुपचुप हुन लागे । देशका गौरवका आयोजनामा धमाधम भ्रष्टाचारका तथ्यहरु बाहिरिन लागे । सरकारी विलासिताको लागि राज्यले निकै धनराशी खर्च गर्न लाग्यो । राष्ट्रपती विद्या देवी भन्डारीको पनि सरकारी विलासिताको आचरणले जताततै आलोचना बढ्दै गयो । प्रत्येक ठूला संवैधानिक अंगका प्रमुखहरु धमाधम भ्रष्टाचारको केशमा फस्न लागे तर सहजै उम्कन पाए । वाइड बडी काण्ड, सार्वजनिक जग्गा काण्ड,ओम्नी प्रकरण, यति प्रकरण, सुन काण्ड, पप्पु ठेकेदारी काण्ड, मार्सि चामल सम्झौता, बास्कोटा घुस काण्ड, सांसद अपहरण काण्ड सम्म ओली प्रशासन आफ्नै वरपरबाट फसिसकेको थियो ।

स्थायी सरकारबाट पनि न्युनतम उपलब्धी प्राप्त गर्न नसकेका नेपालीले अब केको गणतन्त्रमा खुसी मनाउन के क्रान्ती गर्न बाकिँ छ ?

क्रान्ती सफल भएको र देशले भोगेको संक्रमणकालिन अवस्था बाट शिक्षा लिदै फड्को मार्ने समयमा रुकुम पश्चिममा भएको जातिय विभेदको घटनाले देशलाइ र क्रान्तिका अगुवाहरु लाई लज्जित बनाएको छ । निर्मला पन्त जस्ता कति चेलीले हत्या र बलात्कार खेप्नुपर्छ - नवराज विक जस्ता कति युवाले आफ्नो प्रेम र ज्यान भेरीमा बगाउनुपर्छ ।

प्रेमको लागि, समानताको लागि लडेको यो विराट लडाइमा सहादत प्राप्त गरेका महान पूण्य आत्माहरुलाइ मेरो हृदयको अन्तिम विन्दु देखि विनम्र सम्मान, सलाम सहितको प्रेमपूर्ण अभिवादन।

 परदेशबाट फर्किएको बाकसको लास देखि लासमा ओढाएको कात्रो सम्म राजनीतिको व्यापार गर्ने यो युगका ती सम्पूर्ण नेता भनिएका निर्दयी राजनीतिज्ञलाई पनि सम्मान त छ ।

२०७६ माघ देखि विश्वले कोरोना भाइरसको महामारीबाट गुज्रीनु पर्यो - देशले पनि त्यसको लागि तयारी गर्दै छ ।

यहि समयमा भारतले नेपालको कालापानी भुभाग सहित लिम्पियाधुरा लिपुलेकको जमिन आफ्नो नक्सामा देखाए पनि नेपालले यसको कडा शब्दमा प्रतिरोध गरेको छ । नेपालले नया नक्सा सार्वजनिक गर्‍यो र यसै विषयमा संविधान संशोधन गर्न उत्सुकता देखाएपनी किचलोकै कारण सम्भव भएको छैन ।

आज जेठ १५ गते देशले गणतन्त्रको दिवसको अवसरमा कोरोना भाइरस सम्बोधन गर्ने बजेट ल्याउदै छ । तर हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तो बजेट नहोस । हामी कामना गरौं ।

शुभकामना दिएर हुने त क्यै पनि होइन, नदिएर नहुने पनि क्यै होइन । मूलत: अझै अभावमा घर न घाट भएर भोकको गल्लीमा मरिरहेका सुर्य पाख्रीन, जातकै कारणले मर्नुपरेका अङ्गिरा पासी र नवराज विक, न्यायकै कारणले मर्नुपरेका अधिकारी दम्पती र सिटामोल र आयोडीन नपुगेरै मरेका तमाम अशान्त आत्माहरु प्रती क्षमायाचन गर्दछु ।

गणतन्त्रको विरुवा भएपनी  सार्ने प्रयाश गर्ने तमाम सहिद नेपाली जनतामा गणतन्त्र दिवसको हार्दिक मंगलय शुभकामना ब्यक्त गर्दछु ।

जय देश जय गणतन्त्र
------------
Gopal Subedi ( Gopi )

(लेखमा प्रयोग गरिएका मितिहरुमा पूर्ण भर नपर्नुहुन र विश्वसनिय रुपमा सरकारी तथ्यलाइ आधार मान्नुहोला ।) पूर्णता नभएको कारण गहिरो अध्ययनको लागि उपयुक्त छैन तर सतह ज्ञानको लागि यो उपयुक्त छ । लेख गुगल र विकिपिडिया र केही सरकारी तथ्यलाइ आधार मानी लेखिएको छ । )