धरणी ( कविता )
टुक्रा प्लास्टिक धातुले जमिनको, उर्जा गयो नासिदै
खै जंगल् कति शेष रैछ अहिले? उद्योगमा मिसिदैँ
बन्दैनन् किन ओखती मुलुकमा, बारुद बनेछन् किन
होला एक असर र एक नतिजा, मान्छे छिटो मासिन -१
पानी वायु र अग्नि हुन् प्रकृतिका, सुन्दर अचल् सम्पती
भू - आकाश हिमाल सागर नदि, प्राणी र जंगल् पनि
हत्याको बदला दिएर ममता, माया सिकाइन् सधैं
मैलो रोग घृणा लिदैं प्रकृतिले, जीवन बचाइन् सधैं-२
मैनाका स्वरमा सधैं भजन यो, गुन्जिन्छ भन्ज्याङमा
सोभा बढ्छ झनै सुगा हरिणले, नाच्दा घना झ्याङमा
सीता राम अगस्त्य बुद्ध मुनिको, यो पुण्य श्रीभूमि हो
ॐ भन्ने ध्वनि गुन्जदा सगरमा, स्वर्गै पुगेझैं भयो- ३
के कर्तव्य छ चेतको जगतमा, पुस्ता बचोस् लोकको
ईश्वर हुन् धरणी सधैं म र तिमी, सम्मान् गरौ भूमिको
यो वातावरणै छ एक सबको, हामी तिमी भर परौं
आफ्नै दौलत हुन् सुशील धरणी, आफैं सुरक्षा गरौं -४
- गोपाल सुबेदी ( Gopi )

No comments:
Post a Comment