जसरी
सपना बनेर आए केही अनुहारहरु , तर
खै के बनेर जानेछन् जाने बेलामा
पानी बनेर आउनेहरु बाफ बनेर जालान्
र फर्किएलान मौसमी झरी बनेर
प्रकाश बनेर आउनेहरु अँध्यारो बनेर जालान्
जुनकिरीको अमरावतीमा
आउने जानेको लेखाजोखा राख्दैन जिन्दगीले
त्रिभुवन बिमानस्थलले झैँ
बिमानस्थलले हास्नेहरुको खुसीको राहदानी
र रुनेहरुको दायाँ बायाँ दुबै हातको
बुढी औठाको औठाछाप राखेको हुन्छ
तैपनी मानसपटलमा सम्झिदा
आए
आउनेहरु आए
कोहि कागज बनेर आए
कोहि खाम बनेर आए
कोहि अक्षर कोहि पत्र बनेर आए
गए
जानेहरु गए
कोहि आँसु बनेर गए
कोहि आशा बनेर गए
कोहि असर कोहि अमर बनेर गए
भिरमा लत्रीएको सालिम्बोको झाङमा
कहिलेकहिले बाँदरका छोराछोरी
पुगेझैँ
दिलको भिरमा फुलेको प्रेमको
गुराँस हुर्काउन पुगेकी - तिम्रो जस्तै अनुहार लाग्छ ।
तिम्रो अनुहार त हिराको हारजस्तै रहेछ
सधै वाह - सधैँ मूल्यवान् सधैं अनमोल
मेरो अनुहार पो हार थियो पराजय थियो
मासुबाट नङ उप्किएर जादा
मासुलाइ दुखेँजस्तै
मलाइ दुखाएर - तिमी त नङ गएजसरी गयौं
नजानुपर्थ्यो गयौ
जानैपर्थ्यो त तिमी - शिशिरमा पात झरे झै जान सक्थ्यौ
किनकी मलाइ बसन्तमा कसैको प्रतीक्षा गर्न
कुनै सजाय भन्दा कम लाग्दैन
म त मान्छे बनेकै छैन - तिम्रा लागि
म त खास बनेकै छैन - तिम्रा लागि
म त पशु भएँ - बकवास भएँ तिम्रा लागि
तर
चित्त बुझाउने गर्छु तिमिजस्ता मान्छे भन्दा
म जस्ता पशुहरु मलाइ ठीक लाग्छ ।
माली गाइको बाच्छोले गोठ भुलेझैँ
तिमिले आफ्नो बाटो नभुल्नू ,
जथाभावी बाटो पनि नबनाउनु
भिरबाट खसेको पत्थर जस्तै
लयमा उदाउनु लयमा अस्ताउनु
गगनको रबि झै शशी झैं
सुन छोडिगएकी मुटु
तिमिलाइ अनियमितता मन परे जस्तै
मलाइ नियमितता मन पर्छ ।
©Gopi
No comments:
Post a Comment