पौष मासको बिहानी दिन जाडोले आफ्नो आयतन सगर देखि सागरसम्म छरपस्ट फिजाएको थियो । हातमा पन्जा लगाउछु भन्ने सोचेर खोजेँ - किताबको बीचबाट बल्ल तल्ल निकालेँ - दाहिने हातको पन्जा - गणेशका भक्तले थोरै जुठो लगाइसकेका छन् । तिनै पन्जा पनि बिक्रम दाइले मंसिर अन्तिम हप्ता लाहुर जादा मेरै कोठामा छोडेका थिए ।
खुट्टामा जुत्ता , कानमा हेडफोन र डोरा सरेको स्विटर र ज्याकेट लगाएर म लम्किरहेँ ।
भर्खरै मंसिरको आयु सकिएको थियो । आफ्नै अध्ययनको ब्यस्ततामा थिएँ । मनको मौसम जस्तै थियो शहरको मौसम । कहिले झ्याप्प बादल पस्ने अनि अन्धकार - कहिले खुलेजस्तै हुने । कहिले सिमसिमे बर्षात ।
चिसोमा एक जोर साधारण कपडाहरुमा छोपिएकाहरु लाइ झन बर्षातले कति दुख दिन्छ होला ? म अनुमान गर्दा नगर्दै बगैचामा एक सरो कपडा लगाएर घाम तापेर सुतेका सडक मान्छेहरु लाई नगरपालिका प्रहरीले वरपर सम्म धपाए ।
भाग्यलाइ दोष लगाएँ - आफ्नै बाटो लागेँ । गोजिमा केही रकम छ - छेउको किराना पसलमा गएँ र Dairy Milk किनेँ । म बच्चा हुदा निकै चकलेटहरु खान्थे रे ! गाई चकलेट र ल्याक्टो चकलेट मलाइ अझै मन पर्छन ।
घरसम्म पुग्ने बाटो अलि सुनसान छ । केही घुम्तिहरु छन् । केही रुखबुटाहरु छन् । अलि माथिल्लो टापुमा एउटा दुर्गा मन्दिर छ । गाडी हिड्ने सडकको आडमा एउटा चिया - चटपट पसल छ । मेरो टोलका अधिकांश युवाहरु यतै झरेर चिया चटपटे खान्छन् ।
घण्टाघरमा बाह्र बजेको होला - अलि तुवाँलो नलागेको भए घण्टाघर ठ्याक्कै देखिन्थ्यो - आज देखिएन । महिनामा २-३ दिन चैं क्लिएर देखिन्छ । घण्टाघर हेर्ने निहुँले परपर सम्म हेरेँ - सधैं अघिपछि हिड्ने ( देखिने ) अनुहार देखिँन । भनौँ मान्छे कोहि पनि देखिन ।
चंचला काफ्ले - हाम्रै नगरबासी । राम्री असाध्यै राम्री । बत्तिस लक्षणले युक्त । स्वस्थानिमा देवी स्वस्थानिको वर्णन गरेजस्ती । मृगका जस्ता चम्किला नयन , सुर्यको जस्तै तेज भएको मुहार , हात्तिको सुँडजस्ता कोमल पाउ , कोमल हृदय , हिमताल जस्तै शान्त सुन्दर र कन्चन । वर्णन गर्नेहरु शब्दले आजित हुनेछन् । कुनै कबिको सुन्दर स्मृतिमा उत्पन्न भएकी नवीन ब्रम्हाण्ड सुन्दरी जस्ती !

सधैँ म आफैँ बोलाउथें - उनी नम्र भएर आवश्यक जवाफ मात्र फर्काउथिन् ।
म पनि -नराम्रो - मलाइ कहिल्यै लागेन । राम्रै लाग्यो आफूलाइ। हुन त सबैलाइ यस्तै हुन्छ होला । सबैलाइ यस्तै होस् । आफूलाइ उत्कृष्ट सम्झनु नै जीवनको सफलताको महत्वपूर्ण पक्ष हो । तर आफ्नो नाम कहिल्यै राम्रो लागेन । लिला ब. जोसी । सच्याउन मन लागिरहन्थ्यो । सच्याएको थिइन ।
एकै ठाउँमा पुग्ने मान्छे । आफूलाइ मनपर्ने मान्छे । नभेटिदा अलि ब्याकुल भए । छेउको पिपलको फेदमा बसेँ - पानी खाएँ र हिडें । पानी पनि सकेँ र बोतललाइ छेउको डस्टबिनमा बिसर्जन गरेँ ।
मध्याह्न हुन लागेका घाममा ज्याकेटको टोपी खोलेर सरासर हिडेँ । गुलियो निकै मीठो लाग्ने भएकाले होला यतिखेर सम्म अघिको डेरीमिल्क खोलेर टोकिसकेछु । दुइओटै खाइसकेँ । "लाऊ चन्चला खाऊ" भन्ने मन थियो । भेटिएन - मन खिन्न खिन्न भयो । तर डेरिमिल्क त मन धमिलो भएपनी मीठै हुदोँरहेछ ।
सतिबेर र धुर्सुलका पोथ्राहरुले अनि घारी जस्तै बनाएको छ बाटो । धुर्सुल र सतिबेरका घारी कटेपछी माथी एउटा चौर छ । सतिबेरका पोथ्रा नाघ्दै हिड्दै थिएँ , अलि माथिबाट खोकेको आवाज आएजस्तो लाग्यो । ध्यान दिएर सुनेँ - लाग्यो कसैलाइ अफ्ट्यारो परेको छ । हा.. हा.. हु.. हु.. गर्दै आवाजको घनत्व बढ्दै गयो ।
चौर पुगेपछी देखेँ चन्चला पो रहिछिन । धर्तीतर्फ फर्किएर हा.. हा.. गर्दै पिरो फ्याकिरहेकी रहिछिन् । चटपटेको अन्तिम गाँसमा नै खोर्सानी टोकिछिन् । म तर्फ हेर्नै लाज डर मानिरहेकी थिइन् । मलाइ देखेपछी आफ्नो पिरोको जलन रोक्न खोजिन् - सकिनन् ।
मलाइ पुरै सिनेमा हेरे जस्तै लागिरह्यो - म अनायाशै हास्न पुगेँछु । उनी झन लज्जित भइन् । म तर्फ हेर्नै खोजिनन् । म दर्शक जस्तै थिएँ उनी रंगमन्चकी कलाकार जस्तै । म कसैको दुखमा रमाइरहेको थिएँ । र पनि मलाइ पिरो खोर्सानी देखि रिस उठिरहेको थियो - खोर्सानी दिने चटपटे दिदी देखि पनि रिस उठिरहेको थियो ।
उनले आफ्नो लाजको बिट मार्दै भनिन् - "लिला- पानी छैन ?"
मलाइ मेरो नाम आजबाट निकै राम्रो लाग्यो । मैलेँ मनमनै यो सोचेर 'छैन नि' भन्ने उत्तर दिइसकेछु ।
"चकलेट छैन ?" दिन्थ्यौ त सधैँ -। पिरोको जलन काबुमा आउने कुरै थिएन । मैले हासोँ रोकेर 'छैन नि आज' भनेँ ।
उनलाइ पिरोले निकै सताएको मलाइ प्रष्ट थियो । चौरको डिलमा केही अमलाका रुखहरु थिएँ । गएँ टिपेँ ल्याएँ र दिएँ । अमिला अमलाले उनको पिरोको जलन केही हदसम्म शान्त पार्यो ।
उनलाइ सान्त्वना त मिल्यो होला । मलाइ मनमा भने कस्तो कस्तो लागिरह्यो । केही मिनेट अगाडी पिएको पानीले मेटाएको तिर्खा फेरि जोडसगैँ फर्केर तिर्खा लागिरह्यो । आगो पिएछु जस्तो भयो ।
चौतारीमा खाएको डेरिमिल्क एकाएक तितो लाग्न थाल्यो । एकपटक मीठो लागेको कुरा कसरी नमीठो लाग्न सक्छ ? तर लाग्यो । यति मीठो डेरिमिल्क आज बारबार नमिठो लागिरह्यो ।
चन्चलाले खाएको खोर्सानिले भन्दा मैले खाएको डेरिमिल्कको गुलियोले मेरो हृदय पोलिरहेको थियो ।
तर लिला भन्ने मेरो नाम संसारकै सबैभन्दा राम्रो रहेछ , मलाइ लागिरह्यो । मेरो त कसैलाइ भिन्न नाम दिने चलन छ । आजबाट चंचलाको अर्को नाम - Spicy Dairymilk.
**
--Gopi Gundruk.
No comments:
Post a Comment